भारतद्वारा कोभिशील्ड निकासीमा रोक, अरू विकल्प नेपाललाई किन असहज ?
बीबीसी । नेपालले किनेको कोभिड खोप उपलब्ध गराउन केही सातादेखि सीरम इन्स्टिट्यूट अफ इन्डियाले आनाकानी गरिरहेको थियो । प्रतिडोज चार डलरमा किनिएको २० लाख मात्रामध्ये आधा पठाइसकेको कम्पनीले नेपाल सरकारलाई कोभिशील्ड खोपको बाँकी १० लाख मात्रा आपूर्ति गर्न बाँकी नै छ ।
तर भारत सरकारले नै अकस्मात् कोभिशील्डको निकासीमा अस्थायी रोक लगाउने भनेपछि नेपालको अन्योल झनै बढ्ने देखिन्छ । यसबाट कोरोना भाइरसविरुद्ध सुरु गरिएको खोप अभियान प्रभावित हुने देखिएको छ ।
खोप वितरणमा कस्तो अप्ठेरो ?
नेपालले हालसम्म भारत सरकारबाट अनुदानमा पाएको १० लाख मात्राको खोप, कोभ्याक्स सुविधा अन्तर्गत पाएको झन्डै साढे तीन लाख मात्रा अनि खरिद गरेको मध्ये प्राप्त १० लाख मात्रा पाइसकेको छ ।
प्रारम्भिक चरणमा स्वास्थ्य तथा सफाइ कर्मचारीसहित अग्रपङ्क्तिका अनि त्यसपछि ६५ वर्षमाथिका उमेर समूहका मानिसहरू गरी हालसम्म करिब १७ लाख मात्रा वितरण भइसकेको छ ।
“अब हामीसँग प्रारम्भिक चरणमा पहिलो मात्रा लगाएकाहरूलाई दोस्रो मात्रा दिन त खोप पुग्छ । तर आउनु पर्ने खोप आएन भने बाँकी वितरणमा अप्ठेरो पर्छ नै,” कोभिड खोप विज्ञ सल्लाहकार समितिका संयोजक श्यामराज उप्रेतीले बीबीसीलाई बताए ।
अन्तर्राष्ट्रिय खोप सहायता सञ्जाल कोभ्याक्स मार्फत् आउन बाँकी १९ लाख खोप मे महिनामा आएमा ६५ वर्षभन्दा माथिका मानिसलाई पनि दोस्रो मात्रा दिन सकिने उनले आशा व्यक्त गरे ।
कोभिशील्ड बाहेक अरू विकल्प कस्ता ?
हुन त संसारमा अहिले आधा दर्जनभन्दा धेरै किसिमका खोपहरू बजारमा आइसकेका छन् । तर कतिपय खोप धेरै चिसो तापक्रममा भण्डारण गर्नुपर्ने हुँदा नेपाललाई अनुपयुक्त देखिएको छ भने कतिपय खोपको मूल्य अत्यधिक छ ।
अहिले नेपालको औषधि व्यवस्था विभागले कोभिशिल्ड बाहेक भारत बायोटेक कम्पनीको कोभ्याक्सीन अनि चिनियाँ सिनोफार्म खोपलाई पनि आपत्कालीन प्रयोगको अनुमति दिइसकेको छ । तर ती दुई खोपको मूल्य निकै चर्को रहेको उप्रेतीले बताए ।
“अहिले लगाइरहेको कोभिशील्ड सुरुमा भारतले अनुदानमा अनि पछि नेपाल सरकारले प्रति मात्रा चार डलर तिरेर किनेको हो । तर कोभ्याक्सीनको प्रतिमात्रा १६ डलर तथा सिनोफार्म खोपको प्रतिमात्रा ३० डलर पर्छ । ती खोपको मूल्य सरकारलाई धेरै भयो,” उनले भने ।
ती दुवै खोप दुई मात्रा लगाउनु पर्ने खालका हुन् । सिनोफार्मको आठ लाख मात्रा चीन सरकारले अनुदानमा दिने भनेकाले त्यति चाहिँ अर्को साता ल्याउने चाँजोपाँजो मिलाइँदैछ । तिनलाई पनि जोखिम समूहहरूलाई हेरेर लगाइदिने सरकारको योजना छ ।
भारतले किन लगायो रोक ?
भारतको विदेश मन्त्रालय स्रोतले बीबीसीलाई बुधवार बताए अनुसार अक्सफर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि उसले अस्थायी रोक लगाएको छ ।
भारतभित्रै कोभिड भएका मानिसको सङ्ख्या बढ्न थालेको साथै त्यहाँ एप्रिल १ तारिखदेखि ४५ वर्षभन्दा माथिका मानिसलाइ खोप लगाइने भएकाले घरेलु माग धान्न धेरै खोप भारतमै आवश्यक पर्ने बताइएको छ ।
भारतको यो कदमले एप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको छ । यसले कोभ्याक्स योजना अन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्न सक्ने सम्भावना छ ।
तपाइको प्रतिक्रिया