आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या बारे यसो भन्छ युरोपेली नियामक निकाय
बीबीसी । कोरोना भाइरसविरुद्धको आस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने अस्वाभाविक अवस्थालाई एकदमै दुर्लभ असरका रूपमा सूचीकृत गरिनुपर्ने युरोपेली सङ्घमा औषधीहरूको नियमन गर्ने निकायले जनाएको छ । युरोपमा देखा परेका त्यस्ता ८६ वटा अवस्था बारे अध्ययन गरेपछि युरोपियन मेडीसीन्स एजेन्सी (ईएमए) ले खोप लगाएपछिका जोखिमभन्दा फाइदा बढी रहेको निष्कर्ष निकालेको छ ।
उक्त प्रतिवेदनले करिब २ करोड ५० लाख युरोपेलीहरूलाई दिइएको खोपबारे तथ्याङ्क केलाएको थियो । ईएमएले जोखिमका निश्चित कारक भने सूचीकृत गरेको छैन तर रगत जमेको अधिकांश अवस्था ६० वर्ष मुनिका महिलाहरूमा देखिएको बताइएको छ । यूकेको खोपसम्बन्धी निर्देशन समितिले रगत जम्ने समस्याका कारण ३० वर्ष भन्दा मुनिका मानिसहरूलाई आस्ट्राजेनेकाको सट्टा अन्य खोप दिइनुपर्ने बताएको छ ।
यूकेमा मार्च महिनाको अन्त्यसम्ममा खोप लगाएका ७९ जनामा रगत जम्ने दुर्लभ समस्या देखिएको थियो जसमध्ये १९ जनाको मृत्यु भयो । विश्व स्वास्थ्य सङ्गठनले बुधवार रगत जम्ने समस्याको ”सम्भावना रहे पनि” त्यसको ”पुष्टि नभएको” र विश्वव्यापी रूपमा २० करोड मानिसहरूले आस्ट्राजेनेका खोप लगाएकामा त्यस्तो समस्या भने ”निकै दुर्लभ” रहेको जनाएको छ ।
हालसम्म विश्वव्यापी रूपमा कोरोनाभाइरसबाट १३ करोड २० लाख मानिसहरू सङ्क्रमित भएका छन् । जोन्स हप्किनस् विश्वविद्यालयका अनुसार कोभिड-१९ बाट २८ लाखभन्दा बढीले ज्यान गुमाएका छन् । ईएमएकी कार्यकारी निर्देशक इमर कुकले, ”उमेर, लिङ्ग वा रगत जम्ने समस्या पहिले नै भएको अवस्था जस्ता जोखिमका कुनै निश्चित कारक हुन सक्ने” बारे भने कुनै प्रमाण फेला नपरेको बताएकी छन् ।
सुरक्षाका विषयमा उनले भनिन् ”हाम्रो सुरक्षा समितिले पुष्टि गरेको छ कि आस्ट्राजेनेका खोपले कोभिड-१९ बाट बचाउने कुराले यसका असरलाई ओझेलमा पार्छ ।” उनले थपिन्: ”यो खोप निकै प्रभावकारी देखिएको छ। यसले गम्भीर बिरामी हुन र अस्पताल भर्ना हुनबाट जोगाउँछ र यसले ज्यान जोगाइ रहेको छ ।”
तपाइको प्रतिक्रिया